setoveda logo
१० वैशाख २०८३, बिहिवार

सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने

पुष ८, २०८२, मङ्गलवार
‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम

‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम

पुष ८ गते । सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखा र यूनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार एचपीभी खोप कार्यक्रमका लागि तयारी भइरहेको र खोप दिने समयमा चुनाव तथा चाडपर्वलगायतबाट कार्यक्रम प्रभावित हुन सक्नेतर्फ ध्यानमा राखेर काम गरिने बताउनुभयो ।

माघको अन्तिमदेखि शुरु गरेर फागुनको पहिलो हप्ता अभियान सम्पन्न गर्ने योजनासहित तयारी भइरहेको र यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने डा। गौतमले बताउनुभयो । कक्षा–६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ । गएको वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत झन्डै १७ लाख किशोरीलाई खोप दिएको थियो । गएको वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइनेछ । खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसबाट प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेको डा। गौतमले बताउनुभयो ।

लक्षित सबैजसोलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो । सरकारले अहिले १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ ।